
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताउनु भएको छ ।
माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उहाँले सो प्रतिक्रिया दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै चन्दले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको बताउनु भयो ।
भ्रष्टाचार विरोधी लडाईमा सरकार आफैं सहभागी हुनु राम्रो कुरा भएको उल्लेख गर्दै चन्दले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिईरहेको दावी समेत गर्नु भयो । उहाँले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताउनु भयो ।
महासचिव चन्दले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गर्नु भयो । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उहाँको बुझाई थियो ।
प्रतिक्रिया दिनुहोस्