
काठमाडौं । कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’को नक्कली कार्यालय खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का घनश्याम कटुवाल र लिला भोलन रहेका छन् । हेटौंडा घर भएका भोलनसँग मिलेर कटुवालले नक्कली सरकारी कर्मचारी बनी कार्यालय खोलेर ठगी धन्दा चलाउँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दान बहादुर कार्कीले बताउनुभयो ।
प्रहरी वृत महाराजगञ्ज लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । कृषि मन्त्रालयको छाप प्रयोग गर्नुका साथै जयराम केसीले आफ्नो ओहदा उप-सचिव कार्यालय प्रमुख भनेर नेमप्लेट समेत राखेका थिए ।
पेम्बा तामाङको नाममा शाखा अधिकृत लेखेर टाँसेको नेमप्लेट प्रहरीले बरामद गरेको छ । लोगो प्रयोग गरेर आरोपीहरुले १५ लाखभन्दा बढी ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
फर्निचर खरिदका लागि टेण्डर आह्वान गरेर उधारोमा सामान लिनुका साथै कार्यालयमा कर्मचारी भर्ना को नाममा पनि उनीहरुले ठगी गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले जयरामलाई भक्तपुरको कौशलटारबाट र भोलनलाई नारायणस्थानबाट पक्राउ गरेको हो ।
ठगीमा सम्लग्न अन्य ३ जना फरार रहेको र उनिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्