
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा नेपालका प्रतिपक्ष दलका नेता ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नु भएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो ।
त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने धारणा राख्नु भएको थियो भने नेता युआनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताउनु भएको थियो ।
यता, अध्यक्ष ओलीले चीनले नेपाललाई सधैं प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरुको प्रशंशा गर्नु भएको थियो । त्यस अवसरमा ओली नेतृत्वको सरकारका बेला दुई मुलुकबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताउनुभयो ।
श्रीलंकाको भ्रमण पूरागरी गत आईतबार नेपाल आउनु भएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने अर्चुअल संवाद गर्नु भएको थियो । इटली भ्रमणमा रहनु भएका प्रधानमन्त्री दाहालसँग उहाँको भर्चुअल संवाद भएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।
त्यसैगरी नेता युआनले कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गर्नु भएको थियो ।
युआन ३ दिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्किनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्