
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।
सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने अडान एमालेले राखेको छ । सभामुख देवराज घिमिरेले सून्य समय प्रारम्भ भएको बताउनासाथ एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका हुन् ।
एमालेले सुन प्रकरण छानबिन गरी तथ्य बाहिर ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेको पनि ध्यानाकर्षणल गराएको थियो । एमालेका प्रमुख सचेतक पदम गिरीले सेटिङमा मुलुकमा क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पदमा बस्ने नैतिक धरातल नरहेको समेत जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री श्रेष्ठले सो सुन प्रकरणको छानबिन हुन नदिनका लागि त्यसमा संलग्न जो कोहीलाई कारबाही गर्ने भनेर भ्रम छर्ने काम गरिरहेको आरोप समेत लगाउनु भयो ।
सभामुख घिमिरेले एमाले सांसदहरुलनाई पटक –पटक आ–आफ्नो सिटमा बस्न अनुरोध गरेपनि एमाले सांसदहरुले नमानेपछि प्रतिनिधि सभा बैठक साउन १५ गते सोमबार बस्नेगरी स्थगित भएको छ ।
साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानथलबाट बाहिरिदै गर्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्