
सुशील गैरे
कपिलवस्तु । वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले जनचेतनाको कार्यक्रम सुरू गरेको छ । नगरपालिकाले विज्ञ टोलीसहित सर्पदंश उपचारबारे अभिमुखीकरण कार्यक्रम सुरू गरेको हो ।
सर्पले टोकेका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले पहिलो चरणमा नगरभित्रका विद्यालयका शिक्षक र स्वास्थ्य स्वयम् सेविकाका लागि सर्प दंशसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी विज्ञहरूले सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयहरूमा जानकारी गराएका थिए । बुटवलका डा. विशाल झा, भेरी अस्पतालका डा.अभिशेख मण्डल, सर्प सम्बन्धि अनुसन्धान कर्ता सुनिल सापकोटा र कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने बारे कार्यक्रममा बताइएको थियो । अभिमुखीकरण कार्यक्रममा सिकेका कुरालाई विद्यालयको अतिरिक्त क्रियाकलापमा जनचेतनामुलक कार्यक्रम गरि विद्यार्थिलाई सर्पदंश सम्बन्धि जानकारी दिइने सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकी शिक्षिका कमला घिमिरेले बताउनुभयो ।
सर्पदंशकै कारण जिल्लामा एकै पटक चार जनाको ज्यान गएपछि समुदायमा यसको सचेतना फैलाउन सुरु गरिएको हो । गाउँ टोल र बस्तीसम्म सचेतना फैलाउन विद्यालय स्तरबाट सहज हुने भएकाले पहिलो चरणमा विद्यालयका फोकल शिक्षक र स्वास्थ्य स्वयम् सेविकालाई यसबारे अभिमुखीकरण गरिएको कालिका स्वावलम्बन विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले बताउनुभयो ।
सर्पदंशका विरामीको उपचारका लागि सर्पदंश उपचार केन्द्र रहेको बताउदै सर्पले टोकेका विरामीलाई घरेलु उपचार गर्ने र झारफुक गराउने कार्यले पनि कतिपय बिरामीको मृत्यु भएको पाइएकाले सर्पले डसेको आशंका भए सर्पदंश केन्द्रमै जानुपर्ने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोगमा संचालनमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेबाट १२ हजार बढीले उपचार सेवा लिएका छन् । सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ्ग, रोल्पा, रुकुम र छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्