१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको भूमिका आवश्यक : अर्थमन्त्री महत


247
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताउनु भयो । अर्थमन्त्रीले करिव एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताउनु भयो । उहाँले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्यूनिकरण गर्न सकिने बताउनु भयो । उहाँले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भूमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता जनाउनु भयो। अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रुपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताउनु भयो ।

उहाँले अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरुले सतर्कताका साथ काम गर्नुपर्ने बताउनु भयो ।उहाँले आउँदा दिनमा कुनैपनि छुट, कुनैपनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताउनु भयो । अर्थमन्त्री महतले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताउनु भयो ।