
बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षारोपण अभियान शुरु गर्ने भएको छ ।
यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियानमा मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्र्तगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षभित्रमा बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर शहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजना अगाडि बढाएको उहाँले बताउनुभयो ।जसका लागि चालू आर्थिक वर्ष २०८०/०८१ का लागि बुटवल उपमहानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्र्तगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र विरुवा रोपिने पनि बुटवल उपमहानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्