
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताउनु भयो ।
सांसद गौतमले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावि रुपमा उठेर बोल्ने गरेको बताउनुभयो । उहाँले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गर्नुभयो । उहाँले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताउनुभयो । उहाँले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताउनुभयो ।
सांसद गौतमले कुनैपनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताउनुभयो । उहाँले सांसदहरुले संसद आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताउनुभयो । उहाँले उद्देश्य मुलुक ढङ्गले संसद चल्न नदिने किसिमले संसद अवरुद्ध गराउने काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्