
काठमाडौं । कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको उपचार गरिएको छ ।
नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा गरेर सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो ।
सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ । रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा ८६ पुरुष र एक सय ६५ जना महिलाको यस केन्द्रबाट उपचार गरिएको छ । यस आर्थिक बर्षमा १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिनुभयो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आर्थिक बर्षमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिनुभयो ।
आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरिएको थियो । सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । विगतमा सर्पले टोक्दा अकालमै ज्यान गुमाउनुपर्ने परिस्थिति भए पनि अहिले समयमै अस्पताल पुगे ज्यानै गुमाउनुपर्ने अवस्था रहेको छैन ।
प्रतिक्रिया दिनुहोस्