
काठमाडौं । बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ ।
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो ।
प्रत्येक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिविरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए ।
विगतको तुलनामा यो सख्या बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिनुभयो । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकाले यो संख्या बढदै गएको उहाँले बताउनुभयो ।
गत असार महिनामा मात्र १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका छन् । पाठेघरको समस्या भएका ३० जना भन्दा बढी महिलाहरूको परीक्षण गरी निःशुल्क औषधी समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्