
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताउनुभएको छ ।
शुक्रबार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताउनुभएको हो । उहाँले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताउनुभयो । अहिलेपनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गर्नुभयो । उहाँले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको बताउनुभयो ।
मन्त्री बस्नेतले गरिब, विपन्न, असहाय र बेवारीसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निशुल्क भइसकेको जानकारी दिनुभयो । गरिब र विपन्नताका कारण आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताउनुभयो । उहाँले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताउनुभयो ।
वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।
यसैवर्ष सघन उपचारको क्षमता बिस्तार गरेर एक सय बेडमा पु¥याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट सुरु गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्