२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदमा सामाजिक सञ्जालमा आएका विषय उठान, आम सरोकारका विषय ओझेलमा


156
Shares

काठमाडौं । कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल गर्नुपर्ने थलो प्रतिनिधिसभा पछिल्लो समय सांसदहरुका लागि सस्तो लोकप्रियता कमाउने थलो बनेको छ । एकातिर संसद प्रतिशोध साँध्ने फोरम बन्दै गएको छ भने अर्को तिर सांसदहरुले सस्तो लोकप्रियताका लागि संसदलाई चटकेबाजी प्रर्दशन गर्ने थलो बनाएका छन् ।

तामाङ, मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट गर्नेगरि जुन अभिव्यक्ति दिइएको छ, त्यसको घोर आपत्तिजनक भ्रत्सना गर्दछु, भनेर प्रतिनिधि सभा सदस्य सुशिला थिङले सांसद बैठकमा बोल्नुभएको छ । यो अभिव्यक्ति प्रतिनिधिसभा सदस्य सुशीला थिङ्ले टेलिभिजन कार्यक्रममा अधिवक्ता भगवती पाण्डेले तामाङ समुदायको बारेमा दिएको अभिव्यक्ति साउन १० गतेको संसदमा उठाएको विषय हो ।

संसद देशको कानून बनाउने संवैधानिक निकाय मात्र नभई देशको विकास र जनजिविकाको सवालमा आवाज उठाउने थलो पनि हो । तर, पछिल्लो समय संसदमा कानून निर्माण र आम नागरिकका जनसरोकारका विषयमा सैद्धान्तिक र व्यवहारिक बहस र छलफल भन्दा पनि सामाजिक सञ्जालमा चर्चा भएका विषय र संसदमा उठाउन आवश्यकनै नभएका विषयहरु उठान गरेर कहिले संसदअवरुद्ध गर्ने त कहिले कार्यसूचीमा प्रवेश गर्न नदिने स्थिति बन्दै गएको छ ।

संसदका प्रायजसो बैठकमा विधेयकमाथि छलफल, आम नागरिकले भोगिरहेका समस्या, विकास निर्माणका विषयमा छलफल हुनेभन्दा पनि सांसदहरु आफू अनुकुलको विषय उठाउन रुचाउँछन् । गत बुधबारकै संसद बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई गरेको कारवाहीमा आपत्ति जनाउँदै सदनबाटै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिनुभयो ।

त्यसैगरी लोकसेवा तयारीसम्बन्धी पुस्तकमा महिलालाई अपमान हुने शब्द प्रयोग भएको मात्र नभइ जुम्लामा नुनको मूल्यदेखि वैदेशिक राजगारीमा गएका युवाले कामको खोजीमा पाएको दुखसमेत संसदका विषयवस्तु बन्ने गर्छन् । बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आम चासोको विषय भन्दा पनि सामाजिक सञ्जालमा बढी चर्चा भएका विषवस्तुका फहरिस्त सुनाए । यतिमा मात्र नभइ जुम्लामा साउन ५ गते भएको आगलागीका घटनाको पनि चर्चा भयो । सांसहरु आफ्नो विषय भन्दा पनि चर्चामा आएका र सुनेका सबै विषय संसदको आकस्मिक समयमै सुनाउन चाहन्छन् । सभामुखले छोटो समयमा आफ्ना कुरा राख्न समय दिएपनि सांसदहरु एउटै विषयलाई लम्ब्याएर सिंगो संसदको समय लिन खोज्छन् ।

सत्तापक्ष होस् वा प्रतिपक्ष सबै सांसदले अनुशासन र मर्यादा कायम गर्नुपर्छ । तर, संसदमा अहिले न ठूलो भनिएका पार्टी, ती पार्टीबाट पटक पटक सासंद बनिसकेकाहरु न त नयाँ आएका सासंदहरु नै कसैलाई पनि अनुशासन, मर्यादा र आचरण के हो भन्ने नै थाहा नभएको पछिल्ला बैठकहरुमा उनीहरुको प्रस्तुतीले देखाएको छ ।

एकातिर रोष्टममा सांसद, मन्त्री वा प्रधानमन्त्री बोलिरहेका हुन्छन् उता प्रतिपक्ष बेन्चतिरबाट होहल्ला र अवरोधका आवाज आउँछन् । कतिपय सासंदलाई आफूले के बोलिरहेको छु भन्ने हेक्कासमेत हुँदैन । तर संसद चलेको ७ महिनासम्म पनि एक जना सासंसदले पनि जनजीविकाको सवालमा प्रश्न गरेका छैनन् ।

सासंसदका संसदभित्रका गतिविधिले पछिल्लो समय संसदको गरिमा गिर्दै गएको छ । जनताका मुद्दा सम्बोधन गर्ने प्रतिनिसभालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई संसदको गरिमा जोगाउनु अहिलेको आवश्यता हो ।