
काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको हो ।
सर्वोच्च अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलका शीर्ष नेताबीच छलफल भएको बताइएको छ ।
बैैठकले कोशी प्रदेशका सत्तारुढ पार्टीहरुका संसदीय दलका नेताहरुलाई काठमाडौं डाकेको छ । आइतबार बिहान ९ बजे प्रदेश संसदीय दलका नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बुझिएको छ ।
कोशी प्रदेशमा राप्रपालाई साथ नलिई सरकार बन्ने अवस्था क्षीण देखिएकाले सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा रहेको छ । सभामुखलाई राजीनामा गराउने विकल्पले पनि काम नगर्ने देखिएको निष्कर्षमा गठबन्धन पुगेको बुझिएको छ ।
सभामुखले राजीनामा दिंदा उपसभामुखले पनि राजीनामा दिने संभावना देखेपछि सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा लागेको हो । राप्रपाले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।
तर, गठबन्धनसँग ४६ मत मात्रै छ । यस्तै विपक्षमा एमालेका ४० र राप्रपाका ६ सांसद गरी ४६ मत नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्