१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिफा महिला विश्वकपमा दक्षिण कोरिया मोरक्कोसंग १–० गोल अन्तरले पराजित


442
Shares

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ मा एसियाली राष्ट्र दक्षिण कोरिया मोरक्कोसंग पराजित भएको छ ।

समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको हिन्दमार्स स्टेडियममा आज भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसंगै मोरक्कोले प्रि–क्वार्टरफाइनलको सम्भावना कायमै राखेको छ । हारसंगै दक्षिण कोरिया भने प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

यसअघि पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २– ० गोलले हराएको थियो । दक्षिण कोरियाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल अगस्त ३ तारिखमा बलियो जर्मनीसँग खेल्नेछ । समूहमा एक खेल खेलेको जर्मनी तीन अंकसहित पहिलो र समान खेल खेलेको कोलम्बिया पनि तीन अंकसहित दोस्रो स्थानमा छ । दुई खेलबाट तीन अंक बटुलेको मोरक्को भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

दुई खेल सकेको दक्षिण कोरिया अंकविहीन छ । दक्षिण कोरियाविरुद्घको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले प्रारम्भमै गोल गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । सोही गोल नै मोरक्कोलाई तीन अंक दिलाउन पर्याप्त भयो । आजै,जर्मनी र कोलम्बिया,नर्वे र फिलिपिन्स तथा स्विटजरल्याण्ड र न्युजिल्याण्डबीच पनि खेल हुँदैछ ।