२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जलवायु परिवर्तनसम्बन्धी भइरहेका कामको अवस्थाबारे प्रतिवेदन सार्वजनिक


910
Shares

काठमाडौं । नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेका कार्यको अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेको कार्यको पछिल्लो अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको हो ।

सार्वजनिक प्रतवेदनमा जलवायु परिवर्तनबाट अहिलेसम्मका असर, त्यसको चुनौति र समाधानका उपाय औंल्याइएको छ । प्रतिवेदनमा नेपाललाई जलवायु परिवर्तन सम्बन्धी समस्या न्युनिकरणका काम गर्न नेपाललाई वार्षिक साढे ४ खर्ब अमेरिकी डलर आवश्यक रहेपनि नेपालले भने ५० अर्ब मात्रै छुट्याइएको र सो रकम ४ खर्बले कम रहेको बताइएको छ ।

त्यस्तै, जलवायु परिवर्तन सम्बन्धी पर्ने समस्याको समाधानका लागि अर्थ व्यवस्थापनमा ठूलो चुनौति रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जलवायु परिवर्तन सम्बन्धी नेपालले बनाएका नीतिको कार्यान्वयनको अवस्था सन्तोषजनक नहुनु, जलवायु परिवर्तनबाट हुने समस्या न्युनिकरणका लागि प्रदेश स्तरका कार्ययोजनाहरु बनाउन नसक्नुले पनि थप चुनौति बढेको बताइएको छ ।

जलवायु परिवर्तन न्युनिकरणका लागि स्थानीय तहमा आवश्यक र दक्ष जनशक्तिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनबाट भएको असर कम गर्न पेट्रोलियम पदार्थको आयात प्रतिष्थापनका लागि विद्युतीय सामाग्रीको प्रयोगलाई बढाउने बारेमा विशेष कामहरु भइरहेपनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन कसरी घटाउने भन्नेतर्फ सरकारको ध्यान जान नसक्नु र विद्युतीय सामाग्रीको प्रयोगलाई बढाउने बारेमा सोच्न जरुरी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल पानी सदुपयोग फाउण्डेशनका कार्यकारी संयोजक लालमणि वाग्लेले जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखिका समस्याहरुको समाधान हुने किसिमले नीति निर्माण हुन जरुरी रहेको बताउनुभयो । उहाँले नागरिक स्तरको प्रतिवेदनलाई सरोकारवाला निकायहरुले गम्भीरतापूर्वक लिने विश्वास आफूलाई रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले जलवायु परिवर्तन सम्बन्धी आउने रकम स्थानीय स्तरमा जानुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका रोकथामसम्बन्धी नीति र योजना बनाउने स्थानीय पालिकाहरुलाई सिधा रकम दिने कुरा भइरहँदा नेपालमा भने त्यस किसिमको संरचना नै नबनाइएकोप्रति गुनासो गर्नुभयो । उहाँले जलवायु परिवर्तन रोक्न कस्तो किसिमको प्रविधि नेपालमा अपनाउँदा उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट भइरहेका अहिलेका नेपालका चुनौतिहरुको पहिचान गरी जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न बनाइएका योजनाहरुको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले कामको जिम्मा लिएपछि योजनाअनुसार काम हुन नसकेको गुनासो गरे । नेपालमा बनेका जलवायु परिवर्तनसम्बन्धी नीति, नियम कार्यान्वयन हुन नसक्नुको कारण खोजि हुनुपर्ने बताए ।