
काठमाडौं । नापी कार्यालय चाबहिलका तत्कालिन नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नापी अधिकृत पुरीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । पुरीले २०५२ पुस ९ गते सेवा प्रवेश गरी २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
अख्तियारले पुरीले एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ बराबरको आय प्राप्त गरेको देखिएको छ । व्ययमा भने दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको हो ।
व्ययको तुलनामा उनले प्राप्त गरेको आय रकम एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै पुरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ । यस्तै, उनकी श्रीमती सिर्जना गिरीको नाममा पनि सम्पत्ति देखिएको भन्दै सम्पत्ति जफत गर्नको लागि मात्रै उनलाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्