
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति आएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विदेशी मुद्रा सञ्चितिमा आएको सुधार तथा वर्षान्तमा बैंकहरुमा देखिएको तरलता सहजताले राष्ट्र बैंकलाई आगामी वर्ष सहज हुने देखेर लचिलो मौद्रिक नीति अपनाएको बताउनु भयो। उहाँले राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको बताउनु भयो।
उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई साढे छ प्रतिशत बनाउनु नै लचकता अपनाउनु भएको संकेत गर्नुभयो । उहाँले विश्वका अधिकांश देशका केन्द्रिय बैंकले कडा नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उल्लेख गर्नुभयो । उहाँले युरोपियन युनियनको राष्ट्रिय बैंक र बैंक अफ इङल्याण्डले समेत कडा मौद्रिक नीति अपनाइ रहेको भन्दै नेपाल राष्ट्र बैंकले लचिलो आर्थिक नीति लिनुको आधार गत वर्षको आर्थिक तथ्याङ्कले दिएको स्पेस र वाह्य क्षेत्रमा सहज भएको स्पष्ट पार्नुभयो।
उहाँले अहिले घरजग्गा क्षेत्रमा परेको दबाब र मनोबल गिरेको अवस्थामा नोबललाई उकास्न मौद्रिक नीतिले नीतिगत दरलाई घटाएको बताउनु भयो । उहाँले समग्रमा ११.५ प्रतिशतको निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि हुने अनुमान गरी लक्ष्य राखेकोमा लक्ष्य बढी भएको र कम भएको दुवै प्रतिक्रिया आएको बताउनु भयो। उहाँले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने, निजी क्षेत्रको मनोबल बढाउने विषयमा प्राविधिक रुपमा हिसाव गरेर ल्याएको बताउनु भयो। उहाँले बैंकहरुमा कर्जाको औषत ब्याजदर,निक्षेपको औसत ब्याजदर र बैकहरुको बेसरेट निरन्तर रुपमा गत माघदेखि घट्दै आइरहेकाले राष्ट्र बैंक धेरै आशावादी रहेको बताउनु भयो । उहाँले बैंकहरुमा घट्दै गएका रेटहरुले कर्जाको ब्याजदर कम हुने संकेत गरेको बताउनु भयो।
गभर्नर अधिकारीले गत वर्षकै जसरी रेमिट्यान्स आएको रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान रहेको बताउनु भयो । उहाँले बैंकहरुमा अहिले करिव अढाई खर्बको तरलता रहेको बताउनु भयो । उहाँले त्यही खालको रेमिट्यान्स निरन्तर आइराख्दा आगामी वर्षमा ५६२ अर्बको कर्जा निजी क्षेत्रमा बिस्तार गर्न सकिने बताउनु भयो । उहाँले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसक्छौं भन्ने मान्यताका साथ मौद्रिक तथ्याङ्कहरु र मौद्रिक लक्ष्यहरु मौद्रिक नीतिमा लिएको उल्लेख गर्नुभयो।
गभर्नर अधिकारीले प्राकृतिक प्रकोप अथवा कुनैपनि किसिमले अफ्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनको लागि छुट््टै फ्रेमवर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुबाट आएका सुझावहरुलाई सम्बोधन गर्नेगरी चालुपँजी कर्जालाई पनि संशोधनको तयारीमा रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्