१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जलवायु परिवर्तन र वातावरणीय प्रभावका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव


208
Shares

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताउनुभएको छ ।

आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावणीय प्रभावले पानीका मुहानहरु सुक्ने भएकाले प्राप्त खानेपानी वितरणमा चुनौति थपिएको बताउनुभयो ।

मन्त्री यादवले खानेपानीमा थपिएको समस्या दीर्घकालिन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालिन रुपमा समाधान गर्ने उपायको खोजिमा सरकार लागेको बताउनुभयो ।

मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिंचाई मन्त्रालय सहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालिन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताउनुभयो । उहाँले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताउनुभयो । उहाँले तत्काल पानीको मुललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितणलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले सुकेको मुललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताउनुभयो ।