
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताउनुभएको छ ।
आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराई समिति बनेको तीन महिना पूरा हुँदा समेत समिति सभापति चयन नभएको भन्दै चाँडो समिति सभापति चयन गर्न माग गर्नुभएको हो ।
भट्टराईले संसदीय समिति २०८० वैशाख १५ गते बनेको र सामान्यतया समिति निर्माण भएको एक महिनाभित्र समितिले नेतृत्व पाइसक्नुपर्ने भएपनि सत्ता गठबन्धनका कारण नेतृत्व पाउन नसकेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनको बार्गेनिङलाई लिएर प्रमुख प्रतिपक्षका कारण समिति नेतृत्व चयन हुन नसकेको भन्ने आरोप लगाइएको भन्दै त्यसको खण्डन गर्नुभयो ।
भट्टराईले ३ महिनासम्म पनि सभापति चयन हुन नसक्नु सरकारको कमजोरी भएको भन्दै कमजोरीको भारी प्रमुख प्रतिपक्षले बोक्न नचाहेको बताउनुभयो । उहाँले संसदीय प्रक्रियाबाट जाँदा हरेक समितिमा सत्तारुढ गठबन्धनको बहुमत हुने भएकाले संसदीय प्रक्रियाबाट भएपनि समितिलाई नेतृत्व दिनुपर्ने माग गर्नुभयो ।
सांसद भट्टराईले सभापति बिहीन भएर समिति स्थायी कार्यसूचिमा जान नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्