
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताउनुभएको छ ।
आइतबार नेकपा(एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए २०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताउनुभयो ।
अध्यक्ष नेपालले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताउनुभयो । कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै उहाँले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताउनुभयो । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उहाँको भनाई छ ।
अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडी बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्