१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक तथा वित्तीय संस्था सञ्चालकद्वारा मौद्रिक नीतिको स्वागत


0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था सञ्चालकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको स्वागत गरेका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले आइतबार विज्ञप्ति जारी गरी नीतिको स्वागत गर्दै सुदृढ अर्थतन्त्र निर्माणका लागि केही सुझाब समेत प्रस्तुत गरेको छ ।

वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गर्दै जारी मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको परिसंघको बुझाइ छ । संस्थापक शेयरलाई क्रमिकरुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्दछ ।

यसले पूँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत सहयोग पुग्ने उसको भनाइ छ । साना कर्जामा जोखिम भार कम गरिएको विषय स्वागतयोग्य रहेको भन्दै यसले घरेलु, साना तथा मझौला उद्योगलाई कर्जा पहुँचमा सहजता प्रदान गरी आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने परिसंघको विश्वास छ ।

तथापि ठूला किसिमका कर्जामा समेत क्षेत्रगत सिमा तोकिसकेको अवस्थामा थप जोखिम भार हटाइदा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्रमा ठूलो टेवा पुग्ने परिसंघले जनाएको छ ।

धेरै छोटा अवधिका मुद्दति निक्षेपको व्यवस्थाले दीर्घकालिन कर्जा विस्तारमा समेत अवरोध सृजना गरिरहेको हुँदा यस्तो व्यवस्थालाई हटाउन उचित हुनेलगायतका सुझाब सीबीफिनले दिएको छ ।

परिसंघले उत्पादनशिल क्षेत्रलाई २ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भएतापनि बैंकलाई अन्य किसिमका शुल्कलगायतमा नियन्त्रण गरिएकोमा भने परिसंघले असन्तुष्टि जनाएको छ ।