
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको माग छ । गत बुधबार पनि यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो । साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो सुन तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।
आजको बैठकको कार्यसूचिमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने,राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने रहेको छ । यस्तै बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिेने भएको छ । तर एमालेले अवरोध गरेको खण्डमा भने कार्यसूचि प्रभावित हुनेछ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध खुलाउने बिषयमा आज सोमबार बिहान प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्रीले संसद अवरोध हटाउन विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्