
सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुमा पनि लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । गाईवस्तु एकाएक बिरामी हुने र गोठमै मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोग कपिलवस्तुमा पनि देखा परेको छ । जिल्लामा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् भने ३ सय ६० गाईगोरु मरेका छन् ।
गत कात्तिक महिनाबाट लम्पी स्किन रोग देखा पर्न थालेको विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा पहिलो पटक कपिलवस्तु नगरपालिकामा देखापरेको भएपनि अहिले जिल्लाभर यसको प्रकोप फैलिएको छ । लम्पी स्किन रोगका कारण गाईगोरु मर्नुका साथै दुध उत्पादनमा ह्रास आएको कृषक बताउँछन् ।
लम्पी स्किन रोगले उन्नत जातका जर्सी र होलिस्टेन गाईगोरुमा धेरै असर गरेको छ । लम्पी स्किन रोग संक्रमणकै कारण दैनिक ७/८ सय लिटर दुध बिक्री गर्दै आएका व्यापारी अहिले साढे २ सय लिटर दुध मात्र आउँदा दुध उत्पादनमा कमी आएको कोइली दुग्ध डेरीका सञ्चालक कृष्ण खनालले बताउनुभयो ।

खरिद गरिएका २ हजार ६ सय भ्याक्सिन कपिलवस्तुमा गत बुधवारबाट लगाउन सुरु गरिएको छ । सबैभन्दा धेरै प्रभावित रहेको बाणगंगा नगरपालिकाबाट भ्याक्सिन लगाउन सुरु गरिएको पशु चिकित्सक यमलाल पोख्रेलले बताउनुभयो ।
लम्पी स्किन रोग फैलिँदै गर्दा प्राविधिक जनशक्तिको समेत अभाव देखिएको छ । विज्ञ केन्द्र र १० पालिकाभर ४० जना पशु प्राविधिक छन् । विज्ञ केन्द्रका अनुसार १० जना प्राविधिकहरू भ्याक्सिन लगाउन खटिएको कार्यालयले जनाएको छ ।
साना किसान कृषि सहकारी संस्था जगदीशपुर र केही कृषकले आफै भ्याक्सिन खरिद गरी लगाएका छन् । यसरी देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोग समयमै नियन्त्रण गरि भौतिक र आर्थिक क्षति हुनबाट रोक्न तीनै तहका सरकार जिम्मेवार बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्