
काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।
९ बुँदे मागसहित आन्दोलमा रहेका निर्माण व्यवसायी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइसकेका छन् ।
झण्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेअनुरुप सोमबार धर्ना दिएका हुन् ।

साथै उनीहरुले सोमबार दिउँसो संसद भवन अगाडी पनि धर्ना दिने कार्यक्रम तय गरेका छन् । नेपाल सरकारले असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम ५० अर्बभन्दा बढी भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रेको महासंघका अध्यक्ष रबि सिंहको भनाइ छ ।
उनीहरुको सरकारले करिब १ वर्षदेखि निर्माण व्यवसायीहरुको असार मसान्तसम्म भुक्तानी नदिएको र म्याद थप पनि नगरेको हुँदा व्यवसायी बाध्य भइ सडक आन्दोलनमा उत्रेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्