२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


२ सय ८४ मेट्रिकटन रासायनिक मल मौज्दात छ : मन्त्री भुसाल


130
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताउनुभएको हो । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको बताउनुभयो । उहाँले संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले राम्रो काम गर्न नसकेको बताउनुभयो ।

मन्त्री भुसालले स्थानीय तहले रासायनिक मल वितरण राम्रो गर्न नसक्दा मल वितरणमा समस्या देखिएको बताउनुभयो । उहाँले स्थानीय तहले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले काभ्रे, पाल्पा, इलाम, कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा मल वितरणमा बद्मासी गर्नेहरुलाई कारबाही गरेको बताउनुभयो ।

मन्त्री भुसालले सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको बताउनुभयो । उहाँले अब आउने पुससम्मको लागि मल ल्याउनको लागि टेण्डर पनि भइसकेको बताउनुभयो ।

मन्त्री भुसालले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको बताउनुभयो । उहाँले मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो लाग्ने गरेको बताउनुभयो । उहाँले लामो समय खरिद र ढुवानी प्रक्रियाका लागि समयमा लाग्ने र बजेट नहुँदा समस्या हुने बताउनुभयो ।

मन्त्री भुसालले मल कारखाना बनाउने विषयमा भने गम्भिर समिक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब बजेट विनियोजन गरेकोमा ३३ अर्ब बराबरको मल आपूर्ति गरेको भन्दै चालु आवका लागि ३० अर्ब बजेट विनियोजन भएको उल्लेख गर्नुभयो ।