१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन


117
Shares

बर्दिया । दक्ष जनशक्तिको अभावले बर्दिया अस्पतालमा रहेका करौडौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन बनेका छन् ।

अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक अक्सिजनसहितको उच्चस्तरीय एच.डी.यु तथा आइ.सी.यु सेवा सञ्चालन हुन सकेका छैनन् । झण्डै साढे दुई करोडको लगानीमा बनेको भवन र उपकरण जनशक्तिको अभावले प्रयोगविहीन बनेका हुन् ।

बर्दिया अस्पतालमा करौडौँ खर्चेर बनाइएको भवन र खरीद गरेको स्वास्थ्य उपकरण दक्ष जनशक्तिको अभावमा दुई वर्षदेखि प्रयोगविहीन बनेका छन् । अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी/इन्डोसकोपी सेवा, प्रसुती तथा स्त्रीरोग, फिजियोथेरापी लगायतका सेवा प्रदान गर्दै आएको छ । तर सेवा दिनका लागि पूर्वाधार र स्वास्थ्य उपकरण भएपनि विशेषज्ञ चिकित्सक सहितको दक्ष जनशक्ति नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

बर्दिया अस्पतालले कोभिड–१९ संक्रकण बढेपछि जिल्लाका स्थानीय तहहरुको सहयोग र अस्पतालको आफ्नो लगानीमा २५ शैय्याको एच.डी.यु र आइ.सी.यु सेवा सञ्चालनका लागि संरचना तयारी गरेको थियो भने आवश्यक उपकरण खरीद गरेर जडान समेत गरेको थियो । तर, दक्ष जनशक्तिको अभाव ब्यहोरी रहेको अस्पतालले दुई वर्ष बितिसक्दा पनि सेवा सञ्चालन गर्न सकेको छैन । अस्पतालमा बिरामीको चाप भने दिनदिनै बढ्दो छ ।

लुम्बिनी प्रदेश सरकार मातहत रहेको अस्पतालमा ५९ जनाको दरबन्दी रहेको छ । तर अहिले २३ जना मात्र कार्यरत छन् । नियमित उपचारमै जनशक्ति अभाव रहेका बेला एच.डि.यु, आइसियु र डायलोसिस सेवा जस्ता अस्पतालबाट थप सेवा प्रदान गर्न मेडिकल अधिकृत, नर्सिङ स्टाफ अति आवश्यक देखिन्छ ।

बर्दिया अस्पतालले ५० शैय्याको बेडको अनुमति प्राप्त गरे पनि अस्पतालमा बिरामीको चाप भने ८० शैय्यासम्म बढेको छ । सिमित स्रोत, साधन र जनशक्तिबाट अस्पताल चलाउनु पर्ने बाध्यता छ । अस्पतालमा पर्याप्त दक्ष जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा बर्दियाबासीले खेपी रहेको सास्तीको अन्त्य गर्न स्थानीय निकाय ,जनप्रतिनिधि, राजनीतिक दल र विशेष गरि लुम्बिनी प्रदेश सरकारको ध्यान जान जरुरी छ ।