
काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
एड्स, क्षयरोग र मलेरियाबिरुद्ध ग्लोवल फण्डको अनुदानमा निर्माण भएको भवन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो ।
वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोवल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक र सेभ द चिल्ड्रेन नेपाल र भूटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई सोमवार कार्यक्रमकाबीच विधिवतरुपमा हस्तान्तरण गर्नुभएको हो ।
८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा प्रयोगशाला बनेको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्नेे लक्ष्य राखेको छ ।
प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरुको नियमन गर्न प्रदेश र स्थानीय सरकारहरुलाई सकृयरुपमा सहयोग गर्ने उद्देश्य रहेको छ । यसका साथै, क्षमता सुदृढीकरण कार्यक्रमहरुमार्फत प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरुमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, प्रयोगशालाहरुलार्ई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरुको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई न्युन मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनसमेत सहयोग गर्नेछ ।
अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरुको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षण देखि प्याथोलोजिकल र विशिष्टकृत मलिक्युलर विश्लेषणसम्मका सेवा प्रदान गरिनेछन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रयोगशालामा उपलब्ध हुने सेवाहरुको गुणस्तर तथा विश्वसनियता कायम गर्नुपर्ने बताउनु भयो ।
उहाँले लुम्बिनी प्रदेश र अन्य प्रदेशहरुमा समेतको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरु परिपूर्ति गर्नेतर्फ अघि बढ्नु प्रदेश सरकार र स्थानीय सरकार लगायत सबैको साझा दायित्व भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्