१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


किसानलाई समयमा मल दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै हुँदैन : सांसद कार्की


364
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण, दस्तावेज लेख्ने र निर्णय मात्रै गरेर नहुने बताउनुभएको हो ।

सांसद कार्कीले सरकारले आवश्यक समयमा नै किसानहरुलाई मल पुर्‍याउन नसक्ने अनि भाषण र निर्णय पत्रपत्रिकाहरुलाई समाचारको लागि मात्रै हुने गरेको बताउनुभयो। उहाँले समाचारको लागि भन्दा पनि किसानको लागि उपयुक्त हुनेगरी मलको सहज रुपमा वितरण सरकारले गर्नुपर्ने बताउनुभयो ।

सांसद कार्कीले सधैँ यही समयमा मल अभावको विषय उठ्ने गरेको भन्दै मल वितरण प्रणालीलाई सरकारले व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मल गोदाममा सडेर जाने तर किसानहरुले मल नपाउने अवस्था रहेको भन्दै वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउन समितिले आजकै बैठकबाट निर्देशन दिनुपर्ने बताउनुभयो। उहाँले रासायनिक मल कारखाना स्थापना गर्ने कुरा दीर्घकालिन योजना भएको बताउनुभयो ।

सांसद कार्कीले रासायनिक मल कारखाना स्थापना गर्ने कुरालाई तिब्र स्तरमा गएर कारखाना स्थापना गर्न कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो।