१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्यूठानमा बिरुवा रोपेर संरक्षण भने नगर्दा लाखौं सरकारी रकमको नोक्सानी


1.391k
Shares

राजेश जिसी

प्यूठान । प्यूठानमा प्रत्येक बर्ष वर्षा याममा तामझामका साथ बृक्षारोपण गर्ने गरिन्छ । बर्षा याम सुरु हुन पाउदैन निजी, सामुदायिक र कबुलियती बनमा लाखौ बिरुवा रोप्न तँछाड मछाड हुन्छ ।

अनुदानमा आएका बिरुवा रोप्न त रोपिन्छ तर बिरुवाको हेरचाह नहुदाँ लाखौंको लगानी खेर गइरहेको छ ।प्यूठानको गौमुखी गाउँपालिकाले अनुदानमा किसानलाई यस बर्ष झण्डै १४ हजार टिमुरका बिरुवा बितरण गर्‍यो । त्यसका साथै आपँ, लिची, कागती, सुन्तला लगायतका हजारौ बिरुवा बितरण भयो ।

पालिकाले प्रत्येक बर्ष अनुदानमा फलफूल, जडिबुटी तथा घाँसका बिरुवा बितरण गर्दै आएको छ । त्यस्तै यस बर्ष डिभिजन बन कार्यालयले डेढ लाख बिभिन्न प्रजातीका बिरुवाहरु बितरण गरेको छ । प्यूठानका स्थानीय तह तथा अन्य सरकारी कार्यालयले प्रत्येक बर्ष लाखौं रुपैया खर्च गरेर बिरुवा बितरण गर्ने गरेको छन् । तर पालिकाहरुले बितरण गरेका ती बिरुवा अनुगमन नहुदाँ बिरुवा कहाँ कस्तो भएको छ भन्नेबारे सरकारी कार्यालयहरु बेखबर जस्तै बनेका लुम्बिनी प्रदेश सामुदायिक बन महासंघका सदस्य दामोदर शर्मा बताउनुुहुन्छ । बिरुवा बाड्ने तर हेरबिचार र स्याहार नगर्ने कामले राज्यको लाखौं रुपैया दुरुपयोग भएको शर्माको भनाई छ ।

यस बर्ष असार यता प्यूठानमा बिभिन्न सरकारी तथा अन्य क्षेत्रबाट झण्डै १० लाख बिरुवाहरु रोपिएको छ । सरकारी लक्ष्य पूरा गर्नमात्रै बृक्षारोपण गर्ने प्रबृतिका कारण सरकारी कोषको दुरुपयोग हुने गरेको छ । सरकारी लक्ष्य पुरा गर्न भन्दा चाहना र मागका आधारमा बिरुवा बितरण, बृक्षारोपण तथा अनुगमन संयन्त्र भयो भनेमात्र सफल हुने सरोकारबाला बताउछन । बिरुवा रोप्ने फोटो खिच्ने, र आफ्नो कर्तब्य पूरा भएको ठान्नेहरुले आफूले रोपेको बिरुवाको संरक्षण स्याहार सुसार नगर्दा रोपेको केहि दिनमै बिरुवा सुक्ने गरेको छ । तर सरकारी प्रयासले मात्र नभइ बिरुवा संरक्षणको जिम्मेवारी समुदायको पनि भएको डिभिजन बन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताको भनाई छ ।

पछिल्लो समय बिभिन्न नारासहित सरकारी र नीजि संघसंस्था लगायत वातावरणको क्षेत्रमा काम गर्ने हौ भन्नेले धुमधामकासाथ बृक्षारोपण गरी रहेका छन् । तर, बृक्षारोपण जसरी उत्साहकासाथ गरिन्छ त्यसरी नै बिरुवा हुर्काउन पनि लाग्नु पर्ने देखिन्छ । प्रत्येक बर्ष लाखौं बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रबृत्तिले राज्यको लाखौं रुपैया खेर गइरहेको छ । सरकारी लक्ष्य पूरा गर्नमात्र नभइ रोपिएका बिरुवाको रेखदेख तथा संरक्षण गर्नतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।