
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ ।
प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको बताउनुभएको हो । प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको उहाँको भनाइ छ । डा. झाले कम जनशक्तिबाट अनुगमन, परीक्षण लगायतका काममा अफ्ठ्यारो भएको बताउनु भयो । प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन् ।
नेपालका ३ हजार १ सय ४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ । गुणस्तर नियन्त्रण केन्द्रीय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उहाँको बुझाइ छ । उहाँले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु गर्ने स्थान बनाउनुपर्ने बताउनु भयो ।
गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ती यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्