
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ ।
मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै मन्त्री ज्वालाले सो स्पष्टीकरण दिनुभएको हो ।
बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।
जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गर्नुभयो ।
मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले मुुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्