
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ ।
बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङ्गको जेभि रहेको निर्माण कम्पनी रौताह/हिम्डुङ एण्ड थोकर/कन्काइले पुल अलपत्र पारेको भन्दै स्थानीय चिन्तित बनेका हुन ।
पुलको २०७९ भदौ १२ गतेनै ४ करोड ४९ लाखको बिल रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दी पेश गरी निर्माण कम्पनीले भुक्तानी समेत लिइसकेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का सुरु भएपनि निर्माण कम्पनीले पटकपटक म्याद थप गरेको कार्यालयले जनाएको छ ।
रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दीका इन्जिनियर सुरेसप्रसाद साहले लामो समयदेखि निर्माण कम्पनी सम्पर्कविहीन भएकाले पुल अलपत्र परेको बताउनुभयो । उहाँले निर्माण कम्पनीको जिम्मवारी लिएको निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेलाई सम्पर्कमा आउन ताकेता गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्