
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस कोशी संसदीय दलकानेता उद्धव थापाले दाबी पेस गर्नु भएको छ ।
गठबनधन दलका तर्फबाट मंगलबार बहुमतसहित कांग्रेस नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस गर्नुभएको हो । थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन गरेका छन् ।
थापाको पक्षमा बहुमत पुर्याउन माओवादीबाट सभामुख बन्नु भएका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाइएको छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल रहेको छ ।
गत असारमा सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नु भएका कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको अवस्था आएको हो । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि मंगलबार साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । सभामुख गौतमले तटस्थ भूमिका निर्वाह नगरी कांग्रेस नेता थापालाई सरकार बनाउन हस्ताक्षर गरेको भन्दै असारमा एमाले कोशी प्रदेश संसदीय दलका नेता एबं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो । त्यसको सुनुवाई गर्दै सर्वोच्चले गत हप्ता थापाको मुख्य मन्त्री नियुक्ति बदर गरेको थियो । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गत शुक्रबार आजको समयसीमा तोकेर आव्हान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्