
काठमाडौं । १६औं पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२/२०८५/०८६ ) को अवधारणापत्र स्वीकृत भएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गरी १६ औं योजनाको अवधारणा स्वीकृत गरेको हो । समष्टिगत आर्थिक आधारहरुको सबलीकरण,उत्पादन तथा उत्पादकत्व,अभिवृद्धि,मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना,मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजनालाई रुपान्तरणकारी क्षेत्र भनिएको छ ।
यसैगरी, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली,युणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण,सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षालाई समेत १६ औं योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रका रुपमा पहिचान गरिएको छ । सुशासन,सामाजिक न्याय र समृद्धिको सोच लिएको १६ औं योजनाको मूल उद्देश्य राजनीतिक,प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु,स्वास्थ्य,शिक्षा,रोजगारी,आवास लगाउतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन,आर्थिक विकास तथा राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु रहेको आयोगले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहालले योजनाको पूर्ण दस्तावेजमा २०१३ सालदेखि बनेका आवधिक योजनाको संक्षिप्त समीक्षा समावेश गर्न र १६ औं योजनालाई यथार्थपरक बनाउन निर्देशन दिनुभएको थियो । १६औं आवधिक योजना आगामी २०८१ साउनबाट कार्यान्वयनमा जानेछ ।
प्रतिक्रिया दिनुहोस्