
स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासन कार्यालय र केही पालिकाले स्याङ्जाका औषधि पसलहरुको अनुगमन गरेको छ ।
नयाँ आर्थिक वर्ष शुरु भएपछि पालिकाभित्र रहेका औषधि पसल सहित व्यवसायिक पसलहरुमा अनुगमन गरेको हो ।
जिल्लामा हालसम्म ३ वटा पालिकाले मात्रै औषधि पसलहरु अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । औषधि पसलहरुमा दर्ता,नवीकरण र मापदण्ड अनुसारको सेवाका बिषयमा अनुगमन गरिएको छ । औषधि पसल र बिरामी चेकजाँच गर्ने क्लिनिकहरु पहिलो चरणमा अनुमगन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सबै पालिकामा औषधि पसलहरुको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी गराउन पत्राचार गरेको छ । विगतका वर्षहरुमा पनि अनुगमन गरिएकाले सदरमुकामस्थित पुतलीबजारमा औषधि व्यवसाय सुधारात्मक रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय स्याङ्जालाई जिल्लाभरी स्वास्थ्य प्राविधिक खटाएर औषधि पसलहरु अनुगमन गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ । जिल्लाका अन्य ८ पालिकाले छिट्टै बजार अनुगमन गर्ने बताएको छ । जिल्लामा बिशेष गरी भीरकोट,वालिङ र गल्याङ् मुख्य व्यापारीक केन्द्रका बजार हुन् ।
व्यापारीक केन्द्रमा संचालित व्यवसायलाई कडाईका साथ अनुगमन मार्फत नियमन गर्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्