
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताउनुभएको हो ।
सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताउनुभयो । उहाँले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताउनुभयो ।
नेता कोईरालाले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गर्नुभयो । उहाँले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउनुभयो ।
नेता कोईरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले देशमा अराजकता र दण्डहीनता बढीरहेको बताउनुभयो । उहाँले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गर्नुभयो ।
नेता कोईरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनुभयो । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो ।
नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताउनुभयो । उहाँले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्