
काठमाडौं । इटालीका पूर्वगोलकिपर तथा विश्वकप विजेता जियानलुइजी बुफोनले फुटबलबाट सन्यास लिएका छन् ।
इटालीयन लिगको दोस्रो डिभिजनमा रहेको प्रामामा आबद्ध रहेका बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन् । इटालीयन लेजेन्ड बुफोनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । सन् २००६ मा इटालीले विश्वकपको उपाधि जित्दा बुफोन टिमका पहिलो रोजाईको गोलकिपर थिए ।
२८ वर्षको लामो फुटबल करियरमा बुफोनले युभेन्ट्सबाट १० सिरी ‘ए’ र पेरिस सेन्ट जर्मन (पीएसजी) बाट लिग वानको उपाधि जितेका छन् । बुफोनले सन् १९९५ को नोभेम्बरमा प्रामाबाट नै इटालीयन सिरी ‘ए’ मा डेब्यू गरेका थिए । त्यसपछि उनी सन् २००१ मा युभेन्ट्समा आबद्ध भए । युभेन्ट्समा नै करियरको अधिकांश समय बिताएका बुफोनले सन् २०१८–१९ को एक सिजन भने पीएसजीबाट खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्