२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने प्रस्तावित राजदूतको प्रतिवद्धता


143
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले दुई देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाई गरेको हो ।

प्रस्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताउनुभयो ।

बैठकमा बोल्दै युएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले देशको हीतका लागि आवश्यक कामहरुलाई त्यहाँको सरकारस्ँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताउनुभयो । उहाँले त्यहाँ रहेका नेपाली नागरिकको हक, हीतका विषयमा केन्द्रित भइ काम गर्ने बताउनुभयो ।

समितिको बैठकमा सांसदहरुले राजदूतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरुको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे ।