
काठमाडौं । काठमाडौं विश्वविद्यालयले यही साउन २३ गते मंगलावरदेखि तिन दिनसम्म ‘टेक्नो फेयर’ आयोजना गर्ने भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको विश्वविद्यायलको हाताभित्र निर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा हुने मेलामा विभिन्न नयाँ प्रविधि, सेवा तथा उत्पादनहरु प्रदर्शनीमा राखिने छ ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार मेलाका क्रममा प्रदर्शनीसँगै नवनिर्मित इनोभेसन सेन्टरको क्षमता र उपयोगिताबारे जानकारी गराइने छ । कोरिया अन्तराष्ट्रिय सहयोग नियोग–कोइकाको आर्थिक सहयोग तथा कोरियाको जियोनबुक नेशनल युनिभर्सीटिको व्यवस्थापनमा काठमाडौं विश्वविद्यालयले विगत ८ वर्षदेखि ‘एकिकृत ग्रामिण विकास कार्यक्रम (आई.आर.डी.पी) सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रममार्फत अनुदान प्राप्त गरेका अन्वेषक एवं अनुसन्धानकर्ताहरुले तयार पारेका नविनतम सोच र श्रृजनालाई मेलामा प्रदर्शनी गरिने छ । सो क्रममा नेपालमै पहिलो पटक अध्ययन सुरु गरिएको प्रविधि व्यवस्थापनको सेमिनार हुने छ । तिन दिने मेलाको अन्तिम दिन बिहीबार देशभरका नविन सोच एवं सृजना भएका व्यक्ति सहभागी हुन सक्नेगरि ‘आइडिया कन्टेस्ट’ पनि आयोजना हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्