
काठमाडौं । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ ।
पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिनुभयो ।
उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो । डा. अधिकारीले धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताउनु भयो । उहाँले यो पटक विगतको वर्षहरु भन्दा धेरैनै केसहरु देखिएको बताउनु भयो ।
आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताउनु भयो । उहाँले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताउनु भयो । डा.बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महशुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताउनुभयो । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताउनु भयो ।
आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।
आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने !
के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
संक्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुशी औषधिको प्रयोग नगर्ने
प्रतिक्रिया दिनुहोस्