
काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार समिति गठन गरेको हो । समितिमा प्रा.डा. भगवान कोइराला,डा.सन्दुक रुइत,डा.भोला रिजाल, प्रा.डा. शैली प्रधान,प्रा.डा.रविमान श्रेष्ठ, प्रा.डा.किरणप्रसाद श्रेष्ठ,प्रा.डा.रत्नमणि गजुरेल,प्रा.डा. सुवास आचार्य,प्रा.डा.शशि शर्मा,प्रा.डा.रमेश चोखनी,डा.धु्रव गैरे,डा.पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा.अनन्त अधिकारी सदस्य रहनुभएको छ । नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तो समेत देखिएकाले सो समिति गठन गरिएको जनाइएको छ ।
समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआइपी र भीआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताउनुभयो । नेपालमै उपचार संभव भएको अवस्थामा पनि बिशिष्ट ब्यक्तित्वहरु राज्यको ठूलो धनराशी खर्च गरेर बिदेशमा उपचार गर्न जाने गरेका भन्दै पछिल्लो समय प्रश्न उठ्दै आएको छ ।
नेपालमा उपचार संभव नभएको अवस्थामा मात्रै बिदेश जानु पर्ने आवाज उठ्ने गरेको छ । नेपालका सरकारी स्वास्थ्य संस्था र अस्पतालहरुलाई सेवा सुविधा सम्पन्न बनाउनु पर्ने माग पनि उठ्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्