१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ : साउद


52
Shares

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताउनुभएको छ ।

आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताउनुभएको हो । परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडी बढाइएको पनि उहाँले बताउनुभयो ।

उहाँले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताउनुभयो । मन्त्री साउदले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतीको नीति हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको बताउनुभयो । उहाँले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताउनुभयो ।