
काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनको भागबण्डा मिलाउन सरकारले मन्त्रालयको संख्या थपेको छ ।
योसँगै लामो समयदेखि बिना विगागीय मन्त्रीका रुपमा काम गर्दै आउनुभएका नेपाली कांग्रेसका रामकृष्ण चित्रकारलाई मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिएको हो ।
मन्त्री नियुक्त भएको ७७ दिनपछि उहाँले जिम्मेवारी प्राप्त गर्नुभएको हो । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्री चित्रकारले आइतबार मन्त्रालय प्राप्त गर्नुभएको हो ।
माओवादी मन्त्रीहरूले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको हो ।
बागमती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्याइएको हो । सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालय नफुटाउने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नै बाचा अहिले तोड्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्