३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


चलचित्र सम्बन्धि कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा


39
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ ।

पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताउनुभयो ।

भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यसम्बन्धि कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताउनुभयो । मन्त्री शर्माले नेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालको चलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगत निर्णय लिने पनि बताउनु भयो । त्यस अवसरमा उहाँले चलचित्र विकास बोर्डसँग परामर्श गरेर सरकारले चलचित्रकर्मीहरुको योगदानको उचित कदर गर्ने आश्वासन समेत दिनुभयो ।