१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसदको अवरोध खुलाउन सभामुखले बोलाए तीन दलका शीर्ष नेताको बैठक


143
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापतिहरु चयनको विषयमा छलफल गर्न सोमबार विभिन्न दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ ।

आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएका सभामुख घिमिरेले दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुलाई छलफलका लागि डाक्नु भएको हो ।

सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरुसहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । प्रमुख सचेतकहरुले शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने सुझाव दिएपछि सभामुखले सोमबार प्रतिनिधिसभाको बैठक बस्नु अघि शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो ।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे डाकिएको छ । प्रतिनिधिसभाको बैठक बसेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वन गर्ने लगायत कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे डाकिएको छ ।