१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदीय समितिको सभापतिमा ठूला दलबीच भागवण्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्


2.6k
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका १० र संयुक्त २ वटा संसदीय समितिको भागबण्डामा सत्तारुढ र प्रमुख विपक्षी दलबीच सहमति जुटेको छ

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलाइएको हो । सोमबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा समितिहरुको भागवण्डाबारे नेताहरुले जानकारी गराएका थिए ।

एक माओवादी सांसदका अनुसार बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ र बिपक्षी दलका प्रमुख सचेतकहरुबीच भएको छलफलमा संसदीय समितिको भागवण्डामा कुरा मिलेको जानकारी गराउनु भएको थियो । त्यसलाई सकभर आजै सोमबार शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।

भागवण्डा अनुसार संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले ४, प्रमुख प्रतिपक्षी दल एमालेले ३,नेकपा माओवादी केन्द्रले २ वटा समितिको सभापति पाउनेछन् । त्यसैगरी जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले एक–एकवटा समितिको सभापति पाउनेछन् । सहमति अनुसार लेखा समिति,महिला समिति र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने छ । अर्थ,कृषि,संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति नेपाली कांग्रेसले पाउने सहमति छ । यसैगरी,कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले,उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपालाई दिने तयारी छ ।

प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु रहेका छन् । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने भागबण्डामा परेनन् ।