
काठमाडौं । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु. एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व संकलन गरेको छ ।
कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु. ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु. १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु. ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु. पाँच लाख ७३ हजार चार सय ४० राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो ।
राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७८र७९ र २०७९र८० मा लक्षित वर्गका लागि रु. २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ ।
नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्