
काठमाडौं । आइतबार ३७ अंकको पहिरो गएको शेयर बजार सोमबार झिनो अंकले रातो रह्यो ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रहेर २ हजार ४८ कायम भएर थामियो । नेप्से पटक पटक सकारात्मक रहेर २ हजार ७० सम्म पुगे पनि बृद्धि अन्तिमसम्म टिक्न सकेन ।
कारोबार अढाई अर्ब नजिक रह्यो । आइतबार सबै समूह राताम्मे रहेकोमा यसदिन ९ वटा समूह हरियो रहे । लगानीकर्ता पर्ख र हेरको मुडमा रहेको विश्लेषण गरिएको छ । वाणिज्य बैंक, जलविद्युत, लगानी र अन्य समूह ऋणात्मक रहँदा बाँकी धनात्मक रहेका हुन् ।
वित्त, विकास बैंक र होटल तथा पर्यटन समूह डेढ प्रतिशत हाराहारीमा उकालो लागे । वाणिज्य बैंक समुहमा १ प्रतिशतको गिरावट आउँदा बाँकी सामान्य अंकले रातो रहेका हुन् । सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६७ कम्पनीको ६६ लाख ४७ हजार कित्ता शेयर २ अर्ब ३३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
आइतबार अधिकांश कम्पनीको मूल्य ओरालो लागेकोमा आज १ सय १६ कम्पनीको मुल्य बढ्दा सयको घट्यो । घटेको बजारमा पनि नेपाल रिपब्लिक मिडियाको शेयरमा भने सकारात्मक सर्किट लाग्ने क्रम जारी रह्यो । यस्तै, गुर्खाज फाइनान्सका लगानीकर्ताले पनि ९ प्रतिशतमाथि कमाए ।
प्रतिक्रिया दिनुहोस्