२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लम्पी स्किन : गण्डकी प्रदेशका एक लाख बढी गाईभैँसीलाई लगाइयो खोप


520
Shares

काठमाडौं । । गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

महाशाखा प्रमुख डा. न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण देखिएको छैन ।

सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन् । चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोग, लामखुट्टे, किर्नाको टोकाइ आदिबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको डा न्यौपानेले बताए ।

लम्पी स्किन रोगको औषधि पत्ता नलागेका कारण खोप नै बढी प्रभावकारी हुने उनको भनाइ छ । ‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ ।