
कैलाली । कैलालीमा बाढीका कारण छ पालिकाका चार सय ६३ घरमा क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति गरेको हो ।
बाढीले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् । सबैभन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका– ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
सोमबार रातिको वर्षाले कैलारी गाउँपालिका– ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिका– १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ । गोदावरी नगरपालिका– १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ भने भजनी नगरपालिका– २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नं. ३ को ढुसीमा ५ घर, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका– ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घर, कैलारी गाउँपालिका– ७ को बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ । यस्तै जिल्लाको चुरे गाँउपालिका स्थित बुढीतोलामा पहिरोले भीमदत्त राजमार्ग भाँसिदा सुदूरपश्चिमका सात पहाडी जिल्लासगँको यातायात सेवा बन्द भएको छ ।
यस्तै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमामा नेपाल तर्फको ७४८÷३ नम्बरको एउटा सीमा स्तम्भ बगाएको छ भने कैलालीको गोदावरी नदीले गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाममा क्षति गरेको छ । यसैबीच गोदावरी नदीमा फसेका छ जनाको राति नै उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्